बर्दिया, १८ चैत २०८१
गुलरियास्थित रहेको बर्दिया अस्पतालले बेरुजु शुन्य बनाएकोमा सम्मानित भएको छ। प्रदेश राजधानी दाङमा भएको स्वास्थ्य कार्यालय तथा संस्थाहरुको आर्थिक सुशासनका लागि बेरुजुको समीक्षा गोष्ठी तथा शुन्य बेरुजु प्रोत्साहन कार्यक्रममा अस्पताललाई सम्मान गरिएको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन्। शुन्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न उनले जोड दिएका छन।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ लगायतले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिएका थिए।
अस्पतालले पछिल्ला ६ वटा आर्थिक वर्षदेखि लगातार शुन्य बेरुजु कायम गर्न सफल भएको छ। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सुवास पाण्डेयले प्रदेश अन्तर्गतका १४ वटा अस्पताल मध्ये यसपटक शुन्य बेरुजुमा आफूहरु मात्रै रहेको बताउनु भयो। बर्दिया अस्पताल न्युनतम सेवा मापदण्डको मूल्यांकनमा सधैं उत्कृष्ट बन्ने गरेको छ।














