ललितपुर, १५ असार २०८०
विशाल औषधि निर्माता कम्पनी ‘गिलियड साइन्सेस’ लाई मुनाफाभन्दा पहिले जीवनलाई राख्न एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले सुझाव दिएको छ ।
गिलियड कम्पनीले उत्पादन गर्ने एचआईभी र हेपाटाइटिस सीको औषधि विश्वव्यापीरूपमा सहज उपलब्ध हुने वातावरण मिलाउनुपर्ने एएचएफको माग छ ।
गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले बताए ।
‘जीवनरक्षक औषधिहरूको मूल्य अत्यधिक निर्धारण गरिएको तथा यसले निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गरेका कारण एएचएफले औषधि कम्पनीको उक्त रवैयाको विरोध गरेको हो,’ प्रबन्धक जोशीले भने ।
विश्वकै शीर्ष १५ औषधि कम्पनी मध्येमा पर्ने गिलियड औषधि कम्पनीले २७ अर्ब डलरभन्दा बढी मुनाफा आर्जन गरिसकेको छ । सन् २०२१ मा मात्रै यस कम्पनीले आफ्नो सीईओलाई १९ मिलियन डलरभन्दा बढी भुक्तानी दिएको थियो ।
प्रबन्धक जोशीका अनुसार एएचएफले उक्त औषधि कम्पनीको व्यवहारको विरोधमा विश्वव्यापीरूपमा नै विभिन्न प्रकारका विरोधका कार्यक्रम गरिरहेको छ ।