CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र चामुण्डा विन्द्रासैनी नगरपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. २, चल्ने चौतार टोलस्थित सगरमाथा किशोरी समूहको स्वास्थ्य रूपान्तरण कक्षामा “किशोरीहरूको मानसिक स्वास्थ्य तथा सशक्तीकरण कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा किशोरी समूहका २२ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा किशोरावस्थामा हुने मानसिक तथा भावनात्मक परिवर्तन, मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्य समस्याका कारण तथा लक्षणहरू, तनाव व्यवस्थापन, आत्महेरचाह, सकारात्मक सोच र मनोसामाजिक सहयोगका विषयमा जानकारी तथा छलफल गरिएको थियो।
साथै, मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा भावनाहरू खुलेर व्यक्त गर्ने, एकअर्कालाई सहयोग गर्ने र आवश्यक परेको अवस्थामा मनोसामाजिक परामर्श तथा स्वास्थ्य सेवा लिनुपर्ने विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले किशोरीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास विकास, भावनात्मक व्यवस्थापन क्षमता अभिवृद्धि तथा मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न योगदान पुर्याएको छ।








