नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ ।
दिली, तिमोर–लेस्तेमा आयोजित ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कमिटीको ७९औं बैठकमा सो विश्व प्रतिष्ठित सम्मान सङ्घलाई अर्पण गरिएको हो । ‘डब्लुएचओ’का महानिर्देशक डा. टेड्रोस अधानोन ग्याब्रियससले सङ्घका अध्यक्ष प्राडा. चेतराज पन्तलाई उक्त सम्मान अर्पण गरेका थिए।
नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न, पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा अतुलनीय योगदान पुर्याएवापत ‘डब्लुएचओ’ले पहिलो पटक सङ्घलाई सो विधाको सम्मान अर्पण गरेको ‘डब्लुएचओ’द्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्याति सङ्घसहित थाइल्याण्डका डा नित्ताया फानुफाक र भारतका डा. के सुरेशकुमारलाई पनि सम्मान प्रदान गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घले विगत करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर कार्य गर्दै आएको छ । देशभर फैलिएको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचभन्दा बाहिर रहेका समुदायसम्म आँखा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत सङ्घले मानिसको दृष्टि पुनःस्थापना गर्न योगदान पुर्याउँदै आएको छ ।
संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।
अर्कोतर्फ संघले गत आवमा विदेशी बिरामी मार्फत एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याएको छ । यसबाट स्वास्थ्य पर्यटनमा नयाँ सम्भावनाको ढोका समेत खुलेको जनाइएको छ।






