✍️डा.अनन्त अधिकारी,
प्रमुख कन्सल्टेन्ट, मनोचिकित्सक मानसिक, अस्पताल पाटन
गत बर्षको नोभेम्बर तिर चिनको वुहानबाट सुरू भएको कोरोना भाइरस को संक्रमण हाल २०० भन्दा बढी मुलुकमा फैलिएर संसारलाई नै त्रसित बनाएको छ । आजका मिती सम्म आइपुग्दा एक लाख मानिसको ज्यान लिइ सकेको यो समस्याबाट पार पाउनका लागि हामी पनि बिगत दुई हप्ता देखि राज्यको आग्रहमा लक डाउनको अवस्थामा छौं ।
लकडाउनको अवस्थामा समुदायबाट टाढिएर घरमै बस्नुपर्दा अत्यास ,छट्पटी ,निराशापन तथा काम , पेशा,ब्यवसायबाट अलग हुनुपर्दाको अन्योल र भबिस्य प्रतिको असुरक्षाको भावनाले गर्दा हामीलाई मानसिक रूपमा धेरै समस्याहरु आउन सक्छ्न।
कोरोना भाइरसको आजको बिश्वब्यापी महामारी संग जोडिएर आउन सक्ने मानसिक स्वास्थ्य समस्याका लक्षणहरु :
- अत्यधिक डर, त्रास र भय
- मस्तिष्कमा ज्यादै कुरा खेल्ने
- पटक पटक बिना कारण आङ जिरिङ्ग हुने
- छट्पटी लाग्ने
- छाती भारी हुने वा केही चिजले थिचेको महसुस हुने
- मुटुको धड्कन धेरै बढ्ने
- एकै स्थानमा स्थिर भएर बस्न नसकिने
- अहिले नै मरिन्छ कि भन्ने त्रास हुने
- निन्द्रा र भोकमा गडबडी आउने
समान्य मौसमी रुघाखोकी को लक्षणमा पनि कोरोना कै झैँ अनुभूति हुने र आत्यासले सताउने अन्य समस्याहरू :
- बिगतमा उपचारले ठिक भएका मानसिक रोगहरु बल्झिने सम्भावना हुने
- लागूपदार्थ सेवनको कारणले आउने समस्याहरु
- अब्सेसिव कम्पलसिभ डिसअर्डर आदि ।
यो समयमा मानसिक समस्याबाट बच्ने उपायहरु:
- कोरोना बिपत्ती संग सम्बन्धित समाचारका लागि स्वास्थ्य मन्त्रालय वा विश्व स्वास्थ्य संगठनबाट प्रेसित आधिकारिक समाचारहरु मात्र हेर्ने र सुन्ने र बिस्वास गर्ने
- सामाजिक संजालको अत्यधिक प्रयोग नगर्ने ; किनकी यसले एन्जाइटि को समस्या बढ्न सक्ने संभावना आउँछ।
- आधिकारिक रुपमा सिकाएको तरिकाले आफ्नो सुरक्षा गर्ने जस्तैः मास्कको प्रयोग , हात धुने क्रियाकलाप
- आफ्ना पृयजनहरुको साथमा वा सम्पर्कमा रहने
- नियमित औषधि सेवन गरिरहेको अवस्था छ भने निरन्तरता दिने
- घरमा लकडाउनको अवस्थामा आफ्नो दैनिक क्रियाकलाप निरन्तर कायम गरिरहने जस्तैः शारीरिक व्यायाम ,योग र ध्यान आदि
- मन बहलाउनका लागि घर भित्रै विभिन्न खेल खेल्ने, गित संगीत सुन्ने , पुस्तक पढ्ने र सिर्जनात्मक कार्य गर्ने
- रक्सी लगायत लागूपदार्थ सेवन बाट टाढै रहने
- सकारात्मक सोच राख्ने जस्तैः कुनै पनि समस्या सधैं रहदैन।आजको समस्या पनि एक दिन समाप्त भएर जान्छ ।कोरोना भाइरस रोग लागेमा यसको मृत्युदर ३-४ प्रतिशत भन्दा बढी छैन। रोग संग लड्ने क्षमता छ भने यसलाई जित्न सकिन्छ ।
- आफ्नो मनोबल गिर्न नदिने ;यसो भएमा रोग संग लड्ने क्षमता कायम रहन्छ र रोग लागेमा पनि यसलाई परास्त गर्न सकिन्छ ।समाजमा फैलाइएका भ्रम तथा अफवाह बाट टाढा रहने ।