काठमाडौं, १४ असार २०७९
विद्यालय भर्ना हुनु भन्दा पहिले विद्यार्थीको आखाँ जाँच गर्न अत्यावश्यक र प्रभावकारी रहेको सन्दर्भमा नेपाल नेत्र ज्योति संघका कार्यक्रम व्यवस्थापक रन्जन शाह सँग स्वास्थ्य पत्रकार नमराज भट्टले कुराकानीको आधारमा यस्तो रहेको छ।
१) नेपाल नेत्र ज्योति संघले विद्यालयका बालबालिकाहरुको आखाँ जाँच र दृष्टिदोष सम्बन्धि रिच परियोजना संचालन गरिरहेको छ । यस बारे केही बताइदिनुस न ?
* रिच कार्यक्रम एक संघ अन्तगर्त सञ्चालन भएको परियोजना हो। विद्यालय जाने वा नजाने बालबालिकामा आखाँ जाँच गर्नु नितान्त आवश्यक रहेको छ । यसमा हामीले झापा, सुनसरी, मोरङ, सिरहा र पर्सा जिल्लाको सम्पूर्ण विद्यालयमा ६ वर्ष देखि १८ वर्ष सम्मका बालबालिकाको आखाँ जाँच गर्ने कार्य गरिरहेका छौँ।
करिब सात लाख जति बालबालिकाको आखाँ जाँच भइसकेको छ। जसको तथ्याङ्क समग्रमा हेर्दा ९ देखि १२ प्रतिशत बालबालिकाहरूले चस्मा लगाउनु पर्ने अवस्था देखिएको छ। यसमा पनि गाउँमा बस्ने बालबालिकामा कम र शहरमा बस्ने बालबालिकामा बढी चस्मा लगाउनु पर्ने अवस्था छ। सरकारी विद्यालयमा पढ्ने बालबालिकामा चस्मा लगाउनु पर्ने अवस्था कम देखिन्छ, भने बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरुमा अझ बढी आखाँको समस्या भएर चस्मा लगाउनु पर्ने देखिन्छ।
समग्रमा नेपालको प्रदेश न ०१ र मधेस प्रदेशको तथ्यांकलाई नियाल्दा झण्डै ९ प्रतिशतले बालबालिकालाई दृष्टिदोषको समस्या देखिएको अवस्था छ।
२) नेत्र ज्योति संघले यो परियोजना कुन कुन विद्यालयमा सञ्चालन गरेको छ र यस सम्बन्धी केही तथ्यांक छ ?
* हामीले यो परियोजनाको शुरुवात जिल्ला शिक्षा कार्यालय सगं समन्वय गरि गरेका थियौं। त्यहाँबाट जिल्ला शिक्षा कार्यालय र सम्बन्धित निकाय विभाग छन्, त्यहाँबाट भएको प्रणाली बाट तथ्याङ्क संकलन गरेको थियो। त्यसमा पनि सामुदायिक विद्यालय कति र प्राइभेट स्कुल कति वटा भनेर पाँच वटै जिल्लाको तथ्याङ्क लियौं त्यसपछि मात्रै योजना बनाएर अगाडि बढ्यौं।
अहिलेसम्म करिब हामीले पाँच वटै जिल्लाका २२ सय वटा स्कुलमा पुगेर कार्यक्रम सप्पन्न गरेका छौं। यसपछि बिस्तारै प्रदेश न. १ देखि ७ प्रदेश सम्मका सम्पूर्ण जिल्लामा दृष्टिदोष सम्बन्धि कार्यक्रमको बिस्तार गर्ने योजनामा छौं। तत्काल प्रदेश नं १, २ र कर्णाली प्रदेशमा तत्कालै हुन सक्ने सम्भावना रहेको छ।
नेपाल सरकारले पनि अहिले नेतृत्वको योजना अन्तर्गत विद्यालय आखाँ जाँच कार्यक्रमको लागि बजेट छुट्याएको छ। यसमा पनि हाम्रो संरचना देशव्यापी रुपमा फैलिरहेकोले सो ठाउँमा रहेको नेत्र ज्योति संघको आइ केयर सेन्टर अस्पतालले स्थानीय सरकार सँग समन्वय गरी सो बजेटलाई ठाउँ अन्तगर्तका विद्यालयमा आखाँ जाँच गर्ने पहल गरेका छौँ।
३) विद्यालयमा बच्चालाई भर्ना हुनु भन्दा पूर्व आखाँ स्वास्थ्य जाँच गर्ने कार्यक्रम तपाईंलाई कस्तो लाग्यो र यो प्रक्रिया कतिको प्रभावकारी हुन सक्छ होला?
* यो एकदमै राम्रो प्रश्न उठाउनु भयो। विद्यालयमा भर्ना हुनु भन्दा अगाडी विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्न धेरै राम्रो हो। अहिले यो एक नयाँ प्रस्ताव पनि आएको छ। यसलाई बिस्तारै प्रणालीमा ल्याउन समय लागेपनि धेरै प्रभावकारी हुने देखिन्छ। नेत्र ज्योति संघ अन्तर्गतका जुन – जुन ठाउँमा आइ केयर सेन्टर छन्। त्यहाँ हामीले जनमानसमा सन्देश दिइरहेका छौं। विद्यालयमा भर्ना हुनु पूर्व प्रत्येक विद्यार्थीको आखाँ जाँच हुनुपर्छ भन्ने किसिमको एउटा Advocate गरिरहेका छौँ।
विद्यालय भर्ना हुनु पूर्व विद्यार्थीको स्वास्थ्य जाँच हुनु स्वागतयोग्य छ। यसमा विश्व स्वास्थ्य संगठनको सहयोग रहेको छ। यसको अलिकति परिमार्जित रुप हो। हामीले आखाँ मात्र भन्यौ भने अहिले नेपाल सरकारले सम्पुर्ण स्वास्थ्यकै जाँच परिक्षण हुनुपर्छ भन्ने सान्दर्भिक रहेको छ। हामीले कार्यान्वयनमा ल्याउन सक्यौ भने आखाँ मात्रै नभइकन दाँत, कान, मुख लगायत हरेक किसिमको समस्यालाई समयमै पहिचान गरी त्यसको उपचार गर्न सहज हुनेछ।
४) अन्तमा तपाईंलाई नेत्र ज्योति संघले के – के काम गरे जस्तो लाग्छ र अगामी दिनमा के योजना रहेको छ?
* म नेत्र ज्योति संघमा काम गरेको करिब ७ वर्ष जति भयो। अहिले नेपाल सरकारको दायित्व चाहिँ नेपाल नेत्र ज्योति संघले बोकेको स्थिति रहेको छ। संघले नै यसको दायित्व बोकेर अगाडि बढिरहेको छ। जति पनि आँखा स्वास्थ्य सेवा नेपालमा प्रभाव भइराखेको छ त्यसको ९० प्रतिशत जति नेत्र ज्योति संघले संघीय मार्फत र यसको शाखा मार्फत देशभर स्वास्थ्य सेवा सेवा दिइरहेका छौं। हामीले विगतमा चाहिँ नेपाल सरकारको नीतिमा प्रभाव दिने खालको अनुसन्धान हामीले गरेका छौं। जस्तै भिटामिन ए सर्भे। सन् १९८१ मा भएको नेपालको पहिलो अन्धोपन सर्भेक्षण गर्यौं। त्यसपछि पनि हरेक ५ वर्ष र १० वर्षको अन्तरालमा RAAB सर्भेक्षण गर्यौं, जुन अन्तर्राष्ट्रिय वैज्ञानिक तवरले गरिन्छ। त्यस्तैगरी हामीले आखाँ सँग सम्बन्धित क्यापस्टडी पनि प्रशस्तै मात्रामा गरेका छौँ। जसको नतिजाले नेपाल सरकारलाई नीति बनाउने काममा पनि सहयोग पुर्याएको छ।
अहिले नेत्र ज्योति संघले २७ वटा आँखा अस्पताल, करिब १४२ वटा आँखा उपचार केन्द्र, ४२ वटा जिल्ला शाखा मार्फत देशव्यापी रुपमा आखाँ सम्बन्धि आखाँ स्वास्थ्य सेवाको रुपमा माहोल बनाउने काममा सक्रिय रहेको छ। संघले निकट भविष्यमा ७५३ वटै पालिकामा कम्तिमा एउटा आँखा उपचार केन्द्र बनाउने योजना रहेको छ। यो नीतिलाई अगाडि बढाइरहेका छौं।