काठमाडौं, २३ असोज २०८०
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य-सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणेन्द्र बरालले जानकारी दिए। डा. बरालका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ।
डा. बरालले भने, ‘सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरू कम हुनुहुन्छ। त्यसमा पनि उहाँहरू सहरकेन्द्रित हुनुहुन्छ’,। ‘दूरदराजका २२ जिल्लामा महिनामा एकपटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ।’ सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ।
नेपालमा कूल नसर्नेरोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। अपाङ्गता गराउनेप्रमूख १० कारकहरू मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन्।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर-किशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ। जसमा २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाईएको छ र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच पाइएको छ। १८ वर्षमाथिका व्यक्तिहरूमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोचको अवस्था देखिएको छ।
विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरूमा भावनात्मक, व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरूले देखाएका छन्।
मानसिक स्वास्थ्य विषयमा थुप्रै भ्रम, अनगिन्ति अन्धविश्वास र गलत धारणा व्यापक रहेको छ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू ले लान्छना, विभेद, बहिस्करण र सामाजिक मिथ्या कथनको सामना गर्नु परिरहेको छ । मानसिक रोग निको हुदैन, यो रोग लागेपछि जिन्दगिभर रहि रहन्छ, यस्ता रोग लागेका व्यक्ति आक्रामक हुन्छन्, कुनै किसिमको निर्णय लिन सक्दैनन् र खास दक्षता हुदैन भन्ने अन्धविश्वास यथावत नैछ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र उनीहरूका परिवारका सदस्याहरूप्रति गरिने विभेद कायम नै छ।
मानसिक स्वास्थ्य समस्याकै कारण ले उत्पादकत्वमा आउने ह्रासले परिवार, समाज र राष्ट्रलाई नै ठुलो आर्थिक नोक्सानी पुगिरहेको छ। डिप्रेसन र चिन्ताजन्य समस्याको उपचारमा रू १ खर्च गर्यो भने त्यसले रू ४ बराबरको प्रतिफल दिन्छ भन्ने अध्ययनहरूले देखाएका छन्।
त्यसैले मानसिक स्वास्थ्यका क्षेत्रमा बजेट वृद्धि गरी मानसिक स्वास्थ्य समस्याको रोकथाम, उपचार र पुनर्स्थापना कार्य गर्न सकियो भनेत्यसलेनिश्चित रूपमा व्यक्ति, परिवार र राष्ट्रको उत्पादकत्वमा वृद्धि हुनेछ।
संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य (२०१६-२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्नेः नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागुपदार्थ दुर्व्यसनीको रोकथाम, उपचार र पुनर्स्थापना गर्ने लक्ष्य राखिएको छ।