जाजरकोट, २२ कात्तिक २०८०
गत शुक्रबार १७ गते राती जाजरकोट र रुकुम पश्चिममा भुकम्पले पशुधनमा समेत ठूलो क्षति पुगेको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटले दिएको विवरण अनुसार २१ गते सम्ममा जाजरकोटमा गाइ गोरु १०, बाख्रा भेडा १३८, भैसी १५, कुखुरा ४५९ क्षति भएका छन् भने ४३ वटा गोठ खोरहरु भत्किएको विवरण प्राप्त भएको छ ।
त्यसैगरी पशु अस्पताल तथा पशु सेवा कार्यालय, पश्चिम रुकुमले दिएको विवरण अनुसार हालसम्ममा पश्चिम रुकुममा गाइ गोरु १८, बाख्रा ७४, भेडा २, भैसी २६, कुखुरा ७४५, टर्की १० र हाँस १० मरेका छन् भने ४ वटा गोठ खोरहरु भत्किएको विवरण प्राप्त भएको छ ।
संघिय सरकार अन्तर्गतको पशु सेवा विभागबाट वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेलको नेतृत्वमा खटिएको टोलीले घाइते पशुपन्छीको प्राथमिक उपचार सामग्री, निसङ्क्रामक औषधी, भविष्यमा फैलन सक्ने रोग विरुद्धका खोप, पशुपन्छीका शक्ति बर्धक फिड सप्लिमेन्ट दुवै जिल्लाका पशु अस्पतालको समन्वयमा प्रभावित स्थानिय तहमा वितरण गरेको छ।
त्यसैगरी पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. राकेश प्रजापति नेतृत्वको टोली समेत भुकम्प प्रभावित क्षेत्रका घाइते पशुपन्छीको आकस्मिक उपचारमा निरन्तर खटिएको छ।