उदयपुर, १० जेष्ठ २०८१
गर्मी अत्यधिक बढेपछि उदयपुर जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण रुघाखोकी ज्वरो, टाइफाइड र भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
उदयपुर जिल्ला अस्पताल गाइघाटमा बिगत एक महिना देखि दैनिक ५ देखि ६ सय सम्म बिरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र कुमार झाले बताउनु भयो।
डा. झाका अनुसार विगत दुई सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो ।
डा. झाले भन्नुभयो, “अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो ।” अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ ।
लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बिगत एक देखि ४ वटा टिकट काउन्टर बाट सेवा भइरहेको बताउनुभयो ।
नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, झाडापखाला लगायतका बढीमात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँच गर्ने र बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
गत माघदेखिको तथ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । फागुनमा ३७५ जना, चैतमा ४३५ र वैशाखमा ५१० जना बिरामीले सेवा लिएका छन् ।
अहिले जिल्लाको तापक्रम ३८ डिग्री हाराहारीमा रहेको छ । उहाँले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौँ ।” सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउन समेत उहाँले आग्रह गर्नुभयो ।
नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।
कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव शाहले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले चैतमाभन्दा वैशाख लागेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उहाँले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गर्नुभयो।












