धनगढी, २३ पुस २०७९
सुदुरपश्चिम प्रदेशको टिकापुर अस्पतालमा पहिलो पटक आन्द्रामा अल्सर फुटेर प्वाल परेको बिरामीको सफल शल्यक्रिया भएको छ।
कैलालीको जानकी गाउँपालिका ३५ वर्षका जगत राम थारुलाई पौष ९ गते एक्कासी पेटमा समस्या भएर इमरजेन्सीमा आएका थिए। बिरामीका आफन्तले तुरुन्तै इमरजेन्सीमा पुर्याएपछि उपचार सम्भव होला भन्ने लागेकै थिएन। बिरामीको अवस्था धेरै क्रिटिकल भइसकेको थियो।
अस्पतालका जनरल सर्जन डा. नबिन चन्द्र भट्टको नेतृत्वमा उक्त बिरामीको सफल शल्यक्रिया भएको छ। डा. भट्टले आन्द्राको अल्सर फुटेर पेट भरि संक्रमण फुलिसकेको र तुरुन्तै डाइग्नोसिष गरेर सफल शल्यक्रिया भएको बताउनुभयो। उनले भने, यस्तो किसिमको रोग लागेका बिरामीले ब्लड जाँच गर्ने, भिडियो एक्सरे लगायत अरु जाँच गर्दा DU Perforation peritonitis with sepsis देखिन्छ। यो रोगको समयमा निदान र उपचार गर्न सकिएन भने बिरामीको ज्यान जोखिममा पर्ने डा. भट्टले जानकारी दिए।
डा. भट्टले यस्तो किसिमको रोग लागेमा एक्कासी पेट दुख्ने, बान्ता हुने, पेट फुल्ने, ज्वरो आउने, पिसाब कम हुने जस्ता लक्षणहरू देखिने बताउनुभयो। बिरामीको शल्यक्रिया भएको १३ दिन पछि पुर्ण रुपमा राम्रो भएर डिस्चार्ज हुनुभएको छ। विरामीले रक्सी, लागुपदार्थ सेवन नगरी डाक्टरको सल्लाहअनुसार औषधि ( Triple Therapy) दिएर घर पठाएको छ।
डा. भट्ट ५ महिना अघि वीर अस्पतालबाट एक वर्षको लागि काजमा काम गर्दै हुनुहुन्छ। उहाँले ५ महिनाको अवधिमा ३१ वटा एपेन्डिसाइटिसको शल्यक्रिया, ३५ वटा हर्निया, १२ वटा स्तन ट्युमरको शल्यक्रिया, १६ वटा बच्चाको हाइड्रोसिल हर्नियाको शल्यक्रिया, ३१ वटा पाइल्सको उपचार, १७ वटा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया र २४ जनाको फिस्टुला फिसर साइनसको उपचार गरिसकेको डा. भट्टले जानकारी दिनुभयो।