काठमाडौं, ८ जेठ २०८०
नेपालमा पहिलो पटक वृहत यौनिकता शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना तथा संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगाायत बृहत यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा यही जेठ १० र ११ गते सम्मेलन आयोजना हुने भएको हो ।
दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालका सरोकारवाला निकायका युवाहरु तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा होटेल याक एवड यतिमा पहिलो राष्ट्रिय सम्मेलन हुँदैछ ।
उक्त सम्मेलनले सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन, २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव २२५० अघि सारिने छ ।
साथै महिला, शान्त्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, थुथ भिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३, २०३१/३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको नेपाल परिवार नियोजन संघले जनाएकोछ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३ सय जना सरोकारवाला तथा युवाहरुकोे सहभागिता रहने अपेक्षा गरिएकोछ भने कार्यपत्रहरूको प्रस्तुतिपश्चात बृहत् यौनिकता शिक्षाको घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेपाल परिवार नियोजन संघका महाप्रबन्धक डा. नरेश प्रताप केसीले जानकारी दिएका छन ।
नेपाल परिवार नियोजन संघका फोकल पर्सन जमुना सिटौलाका अनुसार उक्त सम्मेलनले युवाहरूको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसंख्यक समुदायहरुको अधिकारको सुनिश्चितता, रुढिवादी प्रथा तथा धारणा, हिंसा, बालबिबाह, युवाहरुको विदेश पलायन, शान्ति, सुरक्षा, किशोरकिशोरी तथा युवा मैत्री सेवा तथा युवा लक्षित राष्ट्रिय नीति प्रभावकारी कार्यान्वयनका बिषयमा जोड दिनेछ ।
यो सम्मेलनले यौनिक शिक्षाको महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ । युवाहरुकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको छ । उक्त मुद्दाहरू दिगो विकासका लक्ष्य २०३० र जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९९४ का प्रतिबद्धताहरू प्राप्त गर्ने महत्त्वपूर्ण आधारहरु भएको सिटौलाले जानकारी दिइन् ।