काठमाडौं, १७ माघ २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाको नेतृत्वमा गठित उपकुलपतिका लागि नाम सिफारिस समितिको शुक्रबार बसेको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बर्णानुक्रम अनुसार प्राडा. ऋषिकेशनारायण श्रेष्ठ, प्राडा. नारायणविक्रम थापा र प्राडा रामेश कोइरालाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसमा पर्ने प्राडा श्रेष्ठ अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, प्राडा. थापा काठमाडौँ मेडिकल कलेज र प्राडा. कोइराला शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा कार्यरत छन् ।
शुक्रबार बसेको बैठकले तीन जनाको नाम टुंगो लगाएको हो । त्यसमा क्रमसंख्या होइन बर्णानुक्रम अनुसार नाम राखिएको छ । यी तीन मध्येबाट प्रधानमन्त्री अर्थात प्रतिष्ठानको कुलपति ज्यूले जसलाई पनि नियुक्त गर्न सक्नुहुनेछ । टुंगिएको नाम आज सहकुलपति ज्यूले कुलपति ज्यू समक्ष पेश गर्ने कार्यक्रम छ।
यसअघिका उपकुलपति प्राडा. संगिता भण्डारीको पदावधी सकिएपछि सरकारले सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाको नेतृत्वमा तीन सदस्यीय नाम सिफारिस समिति गठन भएको थियो । त्यसमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा. भगवान कोइराला सदस्य रहेका थिए ।
सो समितिले सात दिनको म्याद राखेर गत ७ पुसमा उपकुलपति पदका लागि आवेदन माग गरेको थियो । तोकिएको अवधीमा १६ जनाको आवेदन परेको थियो । समितिले तिनै १६ जनामध्येबाट तीन जनाको नाम सिफारिस गरेको हो ।