काठमाडौं चैत २७ सरकारले सातै प्रदेशमा ३६ हजार ४ सय ६१ शैया क्षमताको क्वारेन्टाइन तयार पारेको छ। देशभर तीन हजार दुई सय एक आइसोलेसन बेड तयारी अवस्था राखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार देशभरका क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना मानिसहरु रहेको जानकारी दिए।
उपत्यका बाहिर १२२ र उपत्यका भित्र १२ जना गारी देशभर १ सय ३४ जना मानिसहरु आइसोलेसनमा उपचार गराइरहेका प्रवक्ता देवकोटाले जानकारी दिए।
सरकारले पहिलो चरणमा काठमाडौं बाहिर कोरोनाका बिरामी देखिएका बागलुङ र धनगढीमा र्यापिड टेष्ट गर्ने प्रक्रिया अघि बढाएको छ।
जुन आइसोलेनमा शकास्पद बिरामी र तिनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई राखिएको र नमुना परीक्षण गरिने प्रवक्ता देवकोटाले बताए।
हालसम्म नेपालमा काठमाडौंमा ३, बागलुङ २ र धनगढीमा ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा संक्रमण देखिएका १ जना निको भइसकेका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य सामान्य रहेको बताए।
हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ९ सय ६६ जनाको नमुना परीक्षण भएको छ।
सरकारले टेकुबाहेक धरान, पोखरा, हेटौडा, चितवन, बुटबल, धनगढी र सुर्खेतमा पनि परीक्षण गर्ने व्यवस्था गरेको जनाएको छ। उपत्यकाबाहिर बुधबार साँझसम्म ४ सय १ जनाको नमुना परीक्षण भएको छ।
प्रदेशअनुसार क्वारेन्टाइन र आइसोलन बेडको संख्या
प्रदेश १ मा ३ हजार ८ सय ८० क्वारेन्टाइन र ४ सय ३२ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। प्रदेश २ मा ३ हजार २ सय २७ क्वारेन्टाइन र २ सय ९४ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।
बागमती प्रदेशले ४ हजार ३ सय ३३ क्वारेन्टाइन र ९ सय ५८ आइसोलेसन बेड र गण्डकी प्रदेशले ४ हजार ७ सय १५ क्वारेन्टाइन र २ सय ६५ आइसोलेन बेड तयारी अवस्थामा राखेको जनाएको छ।
प्रदेश ५ ले ५ हजार १ सय १६ क्वारेन्टाइन बेड र ५ सय १२ आइसोलेसन बेड, कर्णाली प्रदेशले २ हजार ७ सय ८८ क्वारेन्टाइन बेड र ४ सय ६६ आइसोलेन बेड तयार गरेको बताइएको छ।
सुदुरपश्चिम प्रदेशले १२ हजार ४ सय १२ क्वारेन्टाइन र २ सय ७४ आइसोलेसन बेड तयारी अवस्था राखेको जानकारी दिएको छ।
सरकारले काठमाडौ खरिपाटी र नगरकोटमा गरी २५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ। टेकु अस्पताल १००, आर्मी अस्पतालमा १००, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २५०, पाटन अस्पतालमा ६ शैयाको आइसोलेसन बेड तयारी अवस्था छ। सरकारले काठमाडौं एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राख्ने घोषणा गरेको थियो।