पर्वत, ७ पुष २०८१
पर्वत अस्पताल स्थापना भएको साढे तीन दशक पछि ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।
फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो ।
मन्त्री पाठकले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।
‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको डा. बास्तोलाको भनाइ रहेको छ ।
डा. बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् ।
अस्पतालले पहिलो चरणमा ५ शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ । जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडौं लगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुनेछ ।