परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भई देश नै शोकाकुल रहेको अवस्थामा वार्षिकोत्सव कार्यक्रम रद्द गरिएको जनाएको छ।
भदौ १९ गते कृष्णाष्टमीको दिन पर्ने अस्पतालको ६७औं वार्षिकोत्सवमा राष्ट्रिय संकटको घडी र मानवीय संवेदनालाई उच्च प्राथमिकतामा राख्दै औपचारिक कार्यक्रम नगरिने भएको हो।
साथै, वार्षिकोत्सव समारोहका लागि छुट्याइएको सम्पूर्ण खर्च रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको अस्पतालले जानकारी दिएको छ।
राष्ट्रिय विपद्को यस संवेदनशील घडीमा अस्पतालले सम्पूर्ण कर्मचारी तथा सरोकारवालाहरूलाई एकजुट भई जुनसुकै विपद्को सामना गर्न तयार रहन र आ-आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग पुर्याउन विशेष आह्वान समेत गरेको छ।






