काठमाडौं, २३ पुस २०७९
नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. कैलाश कुमार भण्डारी नियुक्त भएका छन्। अस्पताल गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको छ।
हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा. भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत थिए । डा. युवराज खरेलको कार्यकाल सकिएपछि डा. भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएकाे अस्पतालले जानकारी दिएको छ ।
सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए । नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सकहरु रहेका छन् ।