काठमाडौं, १० चैत्र २०७७
“Taking Back 2020- Make Vision Count” भन्ने मूल नाराका साथ विश्व दृष्टि विशेषज्ञ दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
प्रत्येक वर्ष यो दिवस मार्च २३ तारिखमा मनाउने गरिन्छ।
मातृका आई सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघले मैतीदेवी मातृका आई सेन्टरबाट सुरु गरेको जनचेतनामूलक र्याली पुरानो बानेश्वर , गौशाला हुँदै केन्द्रमै पुगेर सम्पन्न भएको थियो ।
उक्त र्यालीमा चिकित्सक ,अप्टोमेट्रिष्ट र अप्टोमेट्रि विद्यार्थीको सहभागिता थियो । नेपाल स्वास्थ्य व्यवसायी परिषदमा १ हजार भन्दा बढी दर्ता छन्।
अवसरमा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष डा. निरज देव जोशीले नेपालमा आँखा स्वास्थ्यमा कार्यरत नेत्र रोग विशेषज्ञ, दृष्टि विशेषज्ञ र नेत्र सहायकहरु प्रतिस्पर्धी नभएर एक अर्काका परिपूरक भएको बताए । तर नेपालमा अझै पनि यी तिन प्रकारका जनशक्तिले गर्ने कामको विभाजन स्पष्ट नभएको डा. जोशीले बताए ।
नेपालमा आँखा स्वास्थ्य सेवाको अवस्था अन्य देशको तुलनामा राम्रो भए पनि सरकारले यसलाई अझै उच्च प्राथमिकतामा नराखेकोमा उनले गुनासो गरे ।
मातृका आई सेन्टरका अध्यक्ष डा. किशोर प्रधानले आँखा स्वास्थ्यमा अप्टोमेट्रिष्ट हरुको योगदान महत्वपूर्ण रहेको बताउँदै अहिले डिजिटल डिभाइसको बढ्दो प्रयोग र बढ्दै गईरहेको समस्या एवं जनस्वास्थ्यको कारणले अप्टोमेट्रिष्ट उच्च आवश्यकता रहेको बताउनुभयो।