काठमाडौं, २४ पुस २०८२
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई सास फेर्न सहयोग गर्ने विषयमा एकदिने ‘हेल्पिङ बेबी ब्रिद’ कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यशालामा ॐ अस्पतालमा कार्यरत नर्सिङ स्टाफ तथा मेडिकल अफिसरहरूलाई नवजात शिशुको उपचार र स्याहारका क्रममा अत्यावश्यक जीवनरक्षक सीपहरूबारे व्यवहारिक अभ्यास गराइएको थियो।
नवजात शिशु जन्मिएपछि पहिलो एक मिनेटलाई “गोल्डन मिनेट” मानिन्छ। यस समयमा सास फेर्न समस्या देखिएका शिशुहरूलाई तुरुन्तै सहयोग आवश्यक पर्छ। यस्ता अवस्थामा अपरेशन थिएटर तथा एनआईसीयूमा कार्यरत चिकित्सक र नर्सिङ स्टाफको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।
कार्यशालामा नवजात शिशुको उपचार तथा स्याहारका लागि आवश्यक उपकरण, औजार र औषधिहरू समयमै तयार राख्ने, ती सामग्रीहरूको सही प्रयोग गर्ने, शिशुलाई सास फेर्न सहयोग गर्ने तथा संक्रमण र चिसोबाट जोगाउने विषयमा प्रशिक्षण दिइएको थियो।
ॐ हस्पिटलका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले ॐ हस्पिटल अग्रणि स्वास्थ्य सेवा प्रदायक भएकाले सधैं उपचार सेवाको गुणस्तर र चिकित्साकर्मीको शिक्षा र सीप अभिबृद्धिमा समर्पित भएर लागेको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यशालाको समापन सत्रलाई सम्बोधन गर्दै ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्री यम बहादुर महतले यस्ता तालिमहरूले अस्पतालको नवजात शिशु स्याहार तथा उपचार सेवामा थप सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले सहभागी सबैलाई शुभकामना दिँदै सिकेका ज्ञान र सीपहरू दैनिक उपचार सेवामा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले अस्पतालले आगामी दिनमा पनि यस्ता क्लिनिकल सीप अभिवृद्धि गर्ने तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यशालामा मन्तव्य राख्दै ॐ अस्पतालकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले स्वास्थ्यकर्मी र बिरामीका आफन्तबीचको प्रभावकारी संवादको महत्वमाथि प्रकाश पार्दै ‘हेल्पिङ बेबी ब्रिद’ कार्यशालाले नवजात शिशुको जीवन रक्षा र मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
ॐ अस्पतालको सभाकक्षमा आयोजित उक्त कार्यशालामा वरिष्ठ बालरोग विशेषज्ञ डा. रिता सिंह, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा नर्सिङ इन्सट्रक्टरहरू रेणुका पराजुली, रानु शर्मा, सरोजा बज्राचार्य, बुद्धलक्ष्मी महर्जन, निशा निरौला र दीपशिखा रजकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले नियमित नर्सिङ शिक्षा कार्यक्रमसँगै यस्ता विशेष कार्यशालाहरू नियमित रुपमा सञ्चालन गर्दै आएको छ।













