काठमाडौं, १५ फागुन २०७७
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।
बरिष्ठ न्युरोसर्जन डा. राजीव झा सहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।
डा. झाका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो । ‘उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । त्यसलाई हामी शल्यक्रिया गरेर पनि निकाल्न सक्दैनौं । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन ड्रेन पाइप राखिएको छ,’ उनले भने, ‘यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ । हामी प्रयासरत छौं ।’
डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न सकिन्न,’ डा. झाले भने ।
जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो।