नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान, जीवनदान” भन्ने मानवीय भावनासहित कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
अध्यक्ष अवस्थीका अनुसार आगामी १४ अगस्ट २०२६ (NMSRA Day) का दिन बिहान ११:३० बजेदेखि NMSRA काठमाडौँको कार्यालय परिसरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा औषधि तथा बिक्री प्रतिनिधि, सदस्यहरू लगायत इच्छुक सबैलाई सहभागी भई रक्तदान गर्न आग्रह गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममार्फत रक्तदानलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास NMSRA काठमाडौँले लिएको छ। “एक पिन्ट रगतले कसैको जीवन बचाउन सक्छ, त्यसैले सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गर्दछौँ,” अध्यक्ष अवस्थीले बताउनुभयो।






