नेपाल चिकित्सक संघले जेठ १६ र १७ गते ‘मेडिकल सिटी’ चितवनमा ‘एनएमकन २०२६’ आयोजना गर्ने भएको छ । संघले ३० औँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।
चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको बताउनुभयो ।
डा. कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर व्यापक छलफल गरिने बताउनुभयो ।
डा. कार्कीले सम्मेलन चितवनमा आयोजना हुने तय भएको जानकारी दिदै जहाँ देशभरका चिकित्सक, स्वास्थ्यकर्मी, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागिता रहने बताउनुभयो । उनले सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा तथा मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्र सञ्चालन हुने बताउनुभयो ।
अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरु सहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रममा विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् ।
अध्यक्ष डा. कार्कीले सम्मेलनमा चार वटा समूहगत छलफल गरिने र कार्यक्रममा ६० कार्यपत्र, अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुने बताए। सोही अवसरमा सङ्घका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण समेत गरिने छ ।
सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने डा. कार्कीले बताउनुभयो । हरेक दुई / दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीन/ तीन वर्षमा गर्न थालिएको छ । उहाँका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिने छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीले एनएमएकनलाई केवल औपचारिक सम्मेलन नभई स्वास्थ्य क्षेत्र सुधारका लागि साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । डा. तिवारीले कन्फ्रेन्सले नीति निर्माणमा सहकार्य, अनुभव आदानप्रदान तथा नवीन समाधानको खोजीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
भरतपुर घोषणापत्र जारी गर्ने लक्ष्यसहित हुन लागेको यस सम्मेलनले मुलुकको स्वास्थ्य क्षेत्रको नीति निर्माण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । डा. तिवारीले देशभरका चिकित्सकहरूका लागि पायक पर्ने स्थान भएकाले पनि चितवन रोजिएको बताउनुभयो । उहाँले चितवन शाखाले यस्तो ठूलो जिम्मेवारी वहन गरेकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनुभयो ।
नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. उमेश नेपालले ३०औँ संस्करणको आयोजना गर्ने अवसर चितवनले पाएकोमा खुसी व्यक्त गर्नुभयो । डा. नेपालका अनुसार सम्मेलनका मुख्य प्राज्ञिक तथा वैज्ञानिक कार्यक्रमहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा सञ्चालन हुनेछन् ।
नेपाल चिकित्सक संघ चितवन शाखाका सचिव डा. महेन्द्र अग्रहरीले केन्द्रले जिल्लालाई यो महत्वपूर्ण कार्यक्रमको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो । डा. अग्रहरीले यो सम्मेलनले भरतपुरलाई मेडिकल सिटीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने र जिल्लाका चिकित्सकहरूमा नयाँ ऊर्जा थप्ने बताउनुभयो ।
२०२६ को सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने अध्यक्ष डा.कार्कीले जानकारी दिनुभयो ।






