काठमाडौं, २५ पुष २०७८

नेपाली कांग्रेसका नेता नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै बालबालिकाको लागि १५ दिन शैक्षिक संस्था बन्द गर्नु पर्ने बताएका छन्।
थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रियाका प्रमुख अतिथिसमेत रहेका महरले देशमा फेरि कोरोना जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका हुन्।
‘हामीले १८ वर्ष मुनीका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन सकेका छैनौं। छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। र, पछिल्ला दिनमा नेपालमा समेत कोरोना बढ्दो छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ,’ उनले भने। नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने उनको सुझाव छ।
सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडो कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको महरले औँल्याए।
राजनीतिक दलहरूले पनि स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उनले बताए। सबै पार्टीका नेताहरूले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना कार्यकर्ताहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन लगाउनुपर्ने उनको सुझाव छ।
कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा खोपको सहज उपलब्धतामा ध्यान दिनुपर्ने बताएका छन्।