काठमाडौं ,२० भाद्र २०७७
नेपालमा पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ४०८ जना सहित १ हजार ४१ जनामा कोरोनाको संक्रमण देखिएको छ। १२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज काठमाण्डौ उपत्यकामा चार सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाण्डौमा तीन सय २६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज एक हजार पाँच सय ६६ जना निको भएसँगै कोरोना सङ्क्रमण निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् ।
यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय ८० पुगेको छ ।