राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical Technician (AEMT) तालिम सफलतापूर्वक सम्पन्न भई समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
AEMT तथा आपतकालीन स्वास्थ्य सेवासम्बन्धी यस्ता तालिमहरू नेपालमा पूर्व-अस्पताल (Pre-hospital) आपतकालीन उपचार प्रणाली सुदृढ गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र WHO को सहकार्यमा सञ्चालन हुँदै आएको छ।
उक्त तालिममा सहभागी स्वास्थ्यकर्मी तथा सम्बन्धित जनशक्तिहरूलाई एम्बुलेन्समार्फत बिरामीको सुरक्षित तथा प्रभावकारी व्यवस्थापन, आकस्मिक अवस्थामा आवश्यक जीवनरक्षक सीप, बिरामीको प्रारम्भिक मूल्याङ्कन, आपतकालीन उपचार तथा अस्पतालसम्म सुरक्षित स्थानान्तरण सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि गरी आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता, अनुशासन तथा सिकाइप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै सफलतापूर्वक तालिम पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले दक्ष AEMT जनशक्ति उत्पादनले एम्बुलेन्स सेवामार्फत प्रदान गरिने पूर्व-अस्पताल आपतकालीन उपचारलाई थप प्रभावकारी बनाउने तथा बिरामीको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरूले नेपालमा आपतकालीन स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






