जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी प्रदान गरिएको हो। नेपालको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण मञ्च मानिने विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसम्बन्धी नीति, प्राथमिकता तथा सहकार्यका विषयमा छलफल गर्ने गर्दछन्। उपाध्यक्ष पदमा चयन भएपछि विश्व स्वास्थ्य क्षेत्रमा नेपालको सक्रिय भूमिका र अन्तर्राष्ट्रिय समुदायमा बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बताइएको छ।
महासभाको सोही सत्रअन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा सिंह मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनमा नेपालले सार्वजनिक स्वास्थ्य सुधार, स्वास्थ्य सेवा पहुँच विस्तार तथा विश्व स्वास्थ्य सहकार्यसम्बन्धी आफ्ना धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
नेपालको तर्फबाट महासभा प्रतिनिधिमण्डलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा सिंह मेहता, समन्वय महाशाखा प्रमुख यशोदा अर्याल तथा गुणस्तर महाशाखा प्रमुख डा. रोसन न्यौपाने सहभागी रहेका छन्। प्रतिनिधिमण्डलले विभिन्न बहुपक्षीय बैठक तथा स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ।
महासभामा विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि, स्वास्थ्य विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागिता रहेको छ।






