काठमाडौं, २७ असार २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती राजदूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले बुधबार शिष्टाचार भेटघाट गरेकी छिन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटघाटमा मन्त्री बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार भएको बताउदै नेपालको स्वास्थ्य प्रणाली सुधारमा बेलायत सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । २२ वर्ष पहिले आफू स्वास्थ्य राज्यमन्त्री भएको बेला बेलायत भ्रमण गरेको स्मरण गर्दै मन्त्री बस्नेतले बेलायतबाट नेपालले धेरै कुरा सिक्न चाहेको बताए । स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगका लागि मन्त्री बस्नेतले बेलायत सरकारलाई धन्यवाद दिएका छन् ।
नेपालका लागि बेलायती राजदूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले नेपाल र बेलायत पुरानो दौत्य सम्बन्ध भएका देश भएको स्मरण गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढिकरण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार तयार रहेको बताइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा बेलायत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।