काठमाडौं, २७ पुस २०७९
सरकारले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ देखि १५ महिना पुगेका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको हो ।
दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ । खोपबाट बचाउन सकिने रोगहरूमध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँदछ। ।

यदि कुनै कारणवश खोपको कुनै पनि मात्रा लगाउन छुटेको भएमा जति सक्दो चाडै २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा गराउन मन्त्रालयको आग्रह छ ।
चिकित्सक अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट लाग्ने गर्छ । त्यसैगरी, रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग भएको चिकित्सक बत्ताउँछन् । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रूप पनि लिने मन्त्रालयले जनाएको छ।
दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।