कञ्चनपुर, १९ असोज २०८१
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
अस्पतालले प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल र प्रयोग गरेका पञ्जालाई आम्दानीको स्रोत बनाएको अस्पतालका अध्यक्ष कृष्णादत्त भट्टले जानकारी दिनुभयो।
अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताउनुभयो ।
अध्यक्ष भट्टका अनुसार अव्वस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँने गरेका छौँ । यसले अस्पतालको सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।
फोहर सङ्कलन गरेर सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने भट्टले बताए ।
कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरेको उनले बताए । भट्टका अनुसार अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ । जसमध्ये पुनःप्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ।