रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ ।
शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो ।
अस्पतालले १२ करोड लागतमा खरीद गरेको एमआरआई मेसिन जडानपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
सोही अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनु भयो । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको आचार्यले बताए।
आचार्यले लुम्बिनी प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले भने, प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं। यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।
उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए।
स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै आचार्यले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद दिए ।
यस्तै स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनु भयो।
हाल अस्पतालमा करिब ९ सय चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स र कर्मचारी कार्यरत रहेको र वार्षिक साढे ३ लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिक करिब ३ हजार बिरामी आउने अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशतभन्दा बढी शय्या भरिने गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।
डा. ढकालका अनुसार अस्पतालमा बालरोग, स्त्री तथा प्रसूति, अस्थिरोग, मुटु, न्युरो, शल्यक्रिया, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी , छाला र दन्त लगायत प्रमुख सेवाहरू उपलब्ध छन् । मेसु डा. ढकालले सेवा प्रवाहलाई सहज बनाउन स्पष्ट मापदण्डसहित सहुलियत व्यवस्था लागू गरिएको बताए।
बालरोग विभागमा नवजातदेखि किशोरसम्मका बिरामीका लागि विशेष सेवा उपलब्ध छ भने स्त्री तथा प्रसूति सेवाअन्तर्गत उच्च जोखिमयुक्त गर्भावस्था र सुरक्षित सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको डा. ढकालले बताउनुभयो ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल र स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरे। सोही अवसरमा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
अस्पतालले २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको थियो ।







