आजदेखि थप कडाइ, प्रहरीको विशेष टोली परिचालन

काठमाडौँ, १४ चैत । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाई बिना काम बाहिर हिँडिरहनुभएको छ रु यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ ।

अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैँ क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ ।

सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । सरकारले आज कडाइ गरेपछि मानिस पनि छिटफुट रुपमा हिँडडुल र सवारी साधन पनि कम चलेका देखिन्छन् ।

एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले आज लकडाउनको चौथो दिन अन्य दिनको भन्दा हिँडडुलमा कडाइ गरेको बताउनुभयो ।

“लकडाउनलाई उल्लङ्घन गर्न थालेपछि आजदेखि हामीले थप कडाइ गरेका हौँ” उहाँले भन्नुभयो, “बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।” उहाँका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ ।

टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ । “ती दुई गाडीमा रहेका प्रहरीको गस्ती सानासाना गल्लीमा पनि जान्छन् ।

अनावश्यक रुपमा हिँडिरहेकालाई हामीसँग भएको उपकरणले नियन्त्रणमा लिन्छौँ” उहाँले भन्नुभयो, “यसरी नियन्त्रणमा लिएकालाई प्रहरीको क्वारेन्टाइनमा राखिनेछ ।” उहाँका अनुसार अहिलेसम्म १७ जनालाई नियन्त्रणमा लिइएको छ ।

उहाँले कुनै धर्ना, जुलुस नभई महामारी रोक्नका लागि सरकारले चालेको कदमलाई सबैले सहयोग गरेर बाहिर ननिस्कनसमेत आग्रह गर्नुभयो

Next Post
ADVERTISEMENT