सिराह, १८ वैशाख २०८०
लालबन्दी नगरपालिका सिराहाको सत्र वडामा हालसम्म २ सय ५४ क्षयरोगी फेला परेका छन् ।
नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ र चालु आव २०७९/८० को हालसम्म ९७ गरी २ सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन्।
नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ।
विशेष गरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको पाइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए। क्षयरोगमुक्त नगरपालिका घोषणा अभियानको सुरु गर्दै गरिएको कार्यक्रममा नगर स्वास्थ्य शाखाले नगरभित्र हालसम्म दुई सय ५४ जना मानिसमा क्षयरोग देखा परेको र अरु मानिसको पनि पहिचान गर्ने काम भइरहेको जनाएको छ।
नगर प्रमुख वासुदेव अधिकारीले नेपाल सरकारले ल्याएको नीतिलाई स्थानीय तहका रुपमा नगरपालिकाले पनि अवलम्बन गरेको र नगरभित्र हाल रहेका क्षयरोगीलाई नियमित औषध सेवन गर्न आग्रह गर्दै अरु क्षयरोगीको पहिचान गर्ने काम पनि गरिरहेको छ।
वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगरपालिकालाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतासमेत गरेको छ।