काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचार गराउने भएको छ ।
महानगरपालिकाले आँखा जाँच र प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको समेत उपस्थिती रहेको थियो । सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले बालबालिकाहरुमा अत्याधिक मोबाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवरद्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताइन् । डङ्गोलले सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइने बताइन् ।
सम्झौता बमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तिमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ।







