काठमाडौं, २ भाद्र २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन भएपछि मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ ।
मुगुमा विशेषज्ञ चिकित्सक अभावका कारण पटक पटक सुत्केरीले सास्ती भोग्दै आएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले मुगु जिल्ला अस्पताल छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी समस्यामा परेका थिए ।
उपकुलपति डा. रावलले भने अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु पर्यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतलगायतको पहलमा बुधबार एमडिजीपि डा. सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।
डा. शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उनले बताए । प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।