बारा, १७ पुस २०८२
प्रादेशिक अस्पताल कलैयामा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपीडी सेवा सुरु भएको छ।
मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायले फागुन १६ गते एक कार्यक्रमबीच ती सेवाहरूको औपचारिक उद्घाटन गरेका हुन्।
नयाँ सेवाहरू सुरु भएसँगै स्थानीय बिरामीहरूले आधुनिक र गुणस्तरीय स्वास्थ्य परीक्षण तथा उपचार सुविधा आफ्नै क्षेत्रमा पाउने अवसर बढेको कार्यवाहक मेडिकल सुपरीटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिनुभयो।
डा. गुप्ताका अनुसार मधेश प्रदेशका सेकेन्डरी ‘ए’ स्तरका अस्पतालहरूमध्ये प्रादेशिक अस्पताल कलैया पहिलो हो, जहाँ इकोकार्डियोग्राफी र डेक्सा स्क्यान सेवा सञ्चालनमा आएको छ।
डा. गुप्ताले इकोकार्डियोग्राफी भनेको सामान्यतया ‘इको’ भनेर बुझिन्थ्यो तर यो अल्ट्रासाउन्ड प्रविधिबाट मुटुको संरचना, भल्भ तथा रक्तसञ्चारको अवस्थालाई वास्तविक समयमा मूल्याङ्कन गर्ने सुरक्षित विधि हो।
इको परीक्षणबाट मुटुका कोठाहरूको कार्यक्षमता, भल्भमा देखिन सक्ने समस्या तथा पम्पिङ क्षमताबारे विस्तृत जानकारी प्राप्त हुने भएकाले मुटु सम्बन्धी रोगको पहिचान, उपचार र औषधि व्यवस्थापनमा यो अत्यन्त उपयोगी हुने डा. गुप्ताले बताए।
त्यसैगरी डेक्सा स्क्यान हड्डीको बोन मिनरल डेन्सिटी (बीएमडी) मापन गर्ने अत्याधुनिक परीक्षण हो। यसले ओस्टियोपोरोसिसजस्ता हड्डी कमजोर हुने अवस्थाको प्रारम्भिक पहिचान, भविष्यमा फ्र्याक्चरको जोखिम मूल्याङ्कन तथा हड्डी स्वास्थ्यको निरन्तर निगरानी गर्न सहयोग पुर्याउने डा. गुप्ताले जानकारी दिनुभयो।
यी सेवाहरू सञ्चालनमा आएसँगै मुटु, हड्डी तथा आँखासम्बन्धी रोगको छिटो, गुणस्तरीय र भरपर्दो परीक्षण तथा उपचार स्थानीय तहमै सम्भव भएको छ। उनले भने,अब बिरामीहरूलाई सामान्य परीक्षणका लागि ठूला सहर धाउनुपर्ने आवश्यकता कम हुनेछ।
डा. गुप्ताका अनुसार यसले समय, खर्च र झन्झट घटाउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ।
डा. गुप्ताले आफ्नो कार्यकाल (वि.सं. २०८०) मा अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै थपे, यस अवधिमा एन्डोस्कोपी सेवा, हेमोडायलाइसिस सेवा तथा एसएनसीयू सञ्चालनमा ल्याएका थियौं। साथै आठ शय्याको आईसीयू र तीनवटा भेन्टिलेटरसहितको सेवा पनि सुरु गरिएको छ।
डा. गुप्ताका अनुसार प्रादेशिक अस्पताल कलैयामा एन्डोस्कोपी सेवा पहिलो पटक सुरु गरिएको हो भने हाल यहाँ एन्डोस्कोपिक हस्तक्षेप सेवा समेत उपलब्ध छ।उनले इन्डोस्कोपिक भेरिसियल ब्यान्ड लिगेसनजस्ता जटिल उपचार सेवाबाट स्थानीय मात्र नभई सीमावर्ती क्षेत्रका बिरामीहरू समेत प्रत्यक्ष लाभान्वित भएको बताए।














