काठमाडौं, ०८ फागुन २०८२
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले उच्च रक्तचाप (हाइ बीपी) नियन्त्रणका लागि औषधिसँगै सन्तुलित खानपान अनिवार्य रहेको बताएका छन्। उनले वैज्ञानिक रूपमा प्रमाणित ‘ड्यास डाइट’ (DASH Diet) अपनाउन आग्रह गर्दै दैनिक आहारमा विशेष सतर्कता अपनाउनुपर्ने बताएका हुन्।
उनका अनुसार घरमा पकाइने दाल–तरकारीमा हालिने नुनभन्दा बजारमा पाइने प्याकेटबन्द खाद्य पदार्थमा रहेको ‘लुकेको नुन’ नै प्रेसर बढ्नुको प्रमुख कारण हो। चाउचाउ, बिस्कुट, चिप्स, दालमोठ र अचार जस्ता प्रशोधित खानेकुरामा अत्यधिक नुन हुने भएकाले यस्ता परिकारको सेवन घटाउनुपर्ने उनले सुझाए। दैनिक नुनको मात्रा एक चिया चम्चा (करिब ५ ग्राम) भन्दा कम राख्नुपर्ने बताउँदै उनले नुन पूर्ण रूपमा छोड्न नहुने पनि स्पष्ट पारे।
डा. अनिलले रातो मासु (खसी, राँगा) र घ्यूको प्रयोग कम गर्न आग्रह गरेका छन्। मासु खानै परे कम नुन र मसला प्रयोग गरी पकाएको कुखुरा वा माछा उपयुक्त हुने उनको भनाइ छ। पकाउनका लागि सुद्ध तोरी वा सूर्यमुखी जस्ता वनस्पति तेल प्रयोग गर्न उनले सुझाव दिएका छन्। त्यस्तै, अत्यधिक सेतो चामलको सट्टा मकै, कोदो, फापर वा गहुँबाट बनेका परिकार समावेश गर्न उनले आग्रह गरे।
उनले हरियो सागसब्जी र स्याउ, सुन्तला, अनारजस्ता ताजा फलफूललाई प्राकृतिक औषधिको रूपमा नियमित सेवन गर्न सुझाए। दूध तथा दही सेवन गर्दा त्यसमा भएको चिल्लो भाग हटाएर खानु बुद्धिमानी हुने उनले बताए।
डा. अनिलका अनुसार घरमै पकाइएको सादा, कम नुन र कम तेलयुक्त खाना नियमित रूपमा खाने तथा जंक फुडबाट टाढा रहने हो भने मात्रै पनि रक्तचाप करिब १० अंकसम्म घट्न सक्छ। “यो प्रभाव एउटा औषधिको जत्तिकै हुन सक्छ,” उनले भने।
विशेषज्ञहरूका अनुसार सन्तुलित आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन र समय–समयमा स्वास्थ्य परीक्षणले उच्च रक्तचापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।





