काठमाडौं, २३ कात्तिक २०८१
एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर) लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्यखबर पत्रिकाका धनबहादुर खड्का र हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य ‘ग्लोबल एएमआर मिडिया अवार्ड २०२४’ बाट पुरस्कृत भएका छन्।
खड्काले ‘अलार्मिङ एमएमआर: २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शिर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’बाट उक्त अवार्ड प्राप्त गरेका हुन्। यसैगरी पुरस्कृत आचार्यले एएमआरका विषयमा भएको युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङ आधारमा उक्त अवार्ड प्राप्त गरेकी हुन्। उक्त मिटिङ गत सेप्टेम्बरमा सम्पन्न भएको थियो।
विश्वभरका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ।
विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो। प्रतिष्पर्धीमध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो। त्यसैगरी अर्को युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङको रहेको थियो।
छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्।
बिहिबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको हो। दक्षिण-पूर्वी एशियाबाट खड्कासहित तीनजना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा बंगलादेशको ढाका ट्रिब्युनका पत्रकार नुरुल इस्लाम हसिब (प्रथम) र भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसमा अनुराधा मास्क्रेनहस (दोस्रो) रहेका छन्।
खड्का यही वर्ष सूर्तिजन्य पदार्थबिरुद्धको समाचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदान गर्दै आएको ‘ब्लुमवर्ग स्वास्थ्यमन्त्री पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भइसकेका छन्।
एएमआरमा उनले एक दशकदेखि लेखिरहेका छन्। एएमआरलाई विश्व स्वास्थ्य संगठनले विश्वका मुख्य १० स्वास्थ्य चुनौतीमा राखेको छ,’ खड्काले भने, ‘त्यसैले यस विषयमा चासो बढेको हो। त्यही विषयमा लेखिएको समाचारले अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेकोमा हौसला बढेको छ।’
एन्टिबायोटिकको सही उपयोगबाट मात्रै प्रभावकारिता कायम राख्न सकिने भएकाले सचेतना महत्वपूर्ण कार्य हो। एएमआरमा विश्व स्वास्थ्य संगठनलगायतले प्राथमिकतामा राखेर काम गरिरहेका छन्।