बाजुरा, ३० साउन २०७९
सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लालाई पूर्ण सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि जिल्ला खोप समन्वय समिति बाजुराले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकाहरुलाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
९ वटै स्थानीय तहहरुमा १६ देखि २३ महिनाका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले बताउनुभयो।
चन्दका अनुसार जिल्लामा जन्मेदेखि १५ महिनाका तीन हजार ५६ सय ६ बालबालिका रहेको तथ्यांक छ, भने खोप कार्ड भएका तीन हजा ५ सय २२ र खोप नपाएका ४४ जना रहेका छन् । सर्वेक्षणमा छुटेका बालबालिकालाई वैशाख महिनामा खोप लगाउने योजना रहेको छ।
बाजुरालाई सुदूरपश्चिम प्रदेश ९ औं स्थान र देशभरका जिल्लाहरुमा २२ औं जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको चन्दले बताए ।
खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका जिल्लामा ४ बालिबालिका रहेका छन् । खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप नपाएका ११ जना बाबालिका रहेका छन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १६ देखि २३ महिनाका २ हजार २ सय ४१ बालबालिका छन् । ती मध्ये २ हजार १ सय ६८ बालबिािलकाले खोप पाएका छन् । भने ७३ बालबालिकाले खोप पाएका छैनन् । खोप पाउनबाट बञ्चित भएकाक बुढीगंगामा ३ जना बालबालिका र बडीमालिका नगरपालिकामा ११ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ । घोषणा कार्यक्रममा प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरिय रुपमा अझै अगाडी बढाउने बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक तुलसीराम रोकायाले गरेका हुन् । रोकायाकै अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको विशिष्ट अतिथिमा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, बुढीगंगा नगरपालिका उपप्रमुख माया कुमारी (खड्का) कुँवर, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, त्रिवेणी नगरपालिका कार्यवाहक प्रमुख जुद्ध ऐडी, प्रमुख प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।
घोषणा कार्यक्रमलाई समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन सबैले हातेमालोे गर्नुपर्ने बताएका छन् । जिल्ला भर पुनः सर्वेक्षण गरेर खोप लगाउन छुटेका बालबालिकालाई फेरि खोप लगाउने कार्यक्रम तय गर्ने पनि रोकायाले बताएका छन् ।
कार्यक्रममा शुभकामना राख्ने बक्ताहरुले बालापनमै विभिन्न खोप पाएपछि रोग लाग्नेबाट बचिएको बताएका छन् । खोप लगाउने कार्यक्रम सञ्चालन नभएको समयमा बालबालिकाहरु विभिन्न रोगबाट ग्रसित हुने गर्थे तर अहिले खोप लगाउने कार्यक्रम सञ्चालन भएपछि यस्तो अवस्था नभएको बताएका छन् ।
घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गर्ने चार जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । घोषणा कार्यक्रम स्वास्थ्य कार्यालयका बाजुराका कम्प्युटर अपरेटर प्रशान्तराज जोशीले सञ्चालन गरेका थिए ।
बडीमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख एवंम प्रतिनिधि र जिल्लामा उपलब्ध पत्रकारहरुको सहभागिता रहेको थियो।