हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल शिक्षण अस्पतालको संयुक्त आयोजनामा तथा बेलकोटगढी नगरपालिका र स्थानीय स्वास्थ्य चौकीको सहकार्यमा महादेव माध्यमिक विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
बाढी प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरमा कुल १५४ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा स्त्रीरोगतर्फ ३५ जना, जनरल रोगतर्फ ११८ जना, सुगर परीक्षण ६७ जना तथा मनोपरामर्श सेवा २५ जनाले लिएका थिए। साथै, सेवाग्राहीलाई आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
स्वास्थ्य शिविरको संयोजकत्व मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजका सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले गर्नुभएको थियो।
शिविरको स्वास्थ्य टोलीमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मनोरदिन सैयद, जनस्वास्थ्य विज्ञ प्रा. दुर्गा खड्का मिश्र, जनरल रोग विशेषज्ञ डा. अमृत बस्याल, बायोकेमिस्ट डा. अनित लामिछाने र जनरल रोग विशेषज्ञ डा. बन्दिता कार्की सहभागी हुनुहुन्थ्यो। मनोपरामर्श सेवाका लागि रोजी मानन्धर सहभागी हुनुहुन्थ्यो भने अंशु ढकाल, सचित कुइँकेल, शुनिला श्रेष्ठ र सागर न्यौपाने स्वास्थ्य संस्थाको तर्फबाट सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको अन्त्यमा बाढी प्रभावित नागरिक तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि पानी, बिस्कुट, सेनिटरी प्याड, ब्रस, मञ्जन, Waterguard, Mosquito Spray लगायतका आवश्यक सामग्री वडा अध्यक्ष श्री भुवनेश्वर नेपाल, विद्यालयका प्रधानाध्यापक श्री हरिबंश घिमिरे तथा पालिकाका स्वास्थ्य शाखा प्रमुख श्री सत्येन्द्र साहलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न वडा अध्यक्ष श्री भुवनेश्वर नेपाल, विद्यालयका प्रधानाध्यापक श्री हरिबंश घिमिरे तथा पालिकाका स्वास्थ्य शाखा प्रमुख श्री सत्येन्द्र साहले सहजीकरण र समन्वय गरेका थिए ।
साथै, लायन्स क्लब मिथिला सिटी, न्यू बर्न नर्थ इनिसिएटिभ नेपाल तथा माइतीघर Nepali Naree Married Group, काठमाडौं टिमले आवश्यक सामग्री उपलब्ध गराई सहयोग गरेका थिए।
बाढी प्रभावित समुदायको स्वास्थ्य तथा आवश्यकतामा साथ दिने यस मानवीय अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजले धन्यवाद प्रकट गरेको छ।






