काठमाडौं, ३ भाद्र २०८०
नेपाल आखाँ अस्पतालले चेपाङ बस्तीका ३ जना बालबालिकाको जन्मजात मोतिबिन्दुको निशुल्क सफल शल्यक्रिया गरेको छ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा २०८० श्रावण १३ गते गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नं. ४ मा भएको आँखा शिविरमा २०७ जनाले आँखा जाँच गराई आँखा स्वास्थ्य लाभ लिएका छन् ।
अस्पतालको तर्फबाट दृष्टि विशेषज्ञ युवराज जोशीको टोलीद्वारा आँखा जाँच गर्दा १३ जनामा मोतिविन्दु भेटिएको टोलीको संयोजक रहनुभएका अस्पतालका उपाध्यक्ष तथा क्लबका महासविच दमन बहादुर घले ज्यू ले जानकारी दिनुभयो ।
सोही १३ जना मध्ये ३ जना बालबालिकाको जन्मजात मोतिविन्दुको नेपाल आँखा अस्पतालमा श्रावण ३० गते सफलतापूर्वक निःशुल्क शल्यक्रिया सम्पन्न भएको हो।
आर्थिक अभावमा अहिलेसम्म अन्धकार जीवन बिताइ रहेका चेपाङ समुदायका एकै घरका क्रमशः ६ , ७ तथा १२ वर्षका बालबालिकाको निशुल्क बेहोस गराइ शल्यक्रिया भएको थियो । सो शल्यक्रियाको नेतृत्व गर्नुभएका नेत्र विशेषज्ञ डा. चन्द्रमाया गुरुङ्गका अनुसार शल्यक्रिया पश्चात आँखामा धेरै राम्रो सुधार भएको र तीन दिन सम्म चिकित्सककै निगरानीमा राखी आज शुक्रवार डिस्चार्ज गरिएको छ ।
मोतिविन्दुका अन्य बिरामीहरुको पनि शल्यक्रियाको लागि स्थानिय निकायसँग आवश्यक समन्वय गरिने र आगामी दिनहरुमा पनि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी अस्पताल सम्म पहुँच नपुगेका स्थानहरुमा यस्तै किसिमको कार्यक्रम गरी सेवा पुर्याउने उपाध्यक्ष दमन बहादुर घलेले बताउनुभयो ।