काठमाडौं, १८ बैशाख २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरिरहेको बताएका छन्।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठन इन्टनेसनल एजेन्सी फर ‘द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी) द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री पौडेलले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न तर्फ काम गरिरहेको बताए ।
स्वास्थ्यमन्त्री पौडेलले आँखा नेपालमा आँखा उपचार नवीन उपचार पद्धति रहेको समेत बताए । उनले सहरीकरण, बुढ्यौली र जीवनशैली परिवर्तनले आँखा स्वास्थ्य सेवाको माग बढाइरहेको बताउनुभयो ।
पौडेलले दक्षिणपूर्वी एसियामा अन्धोपन अझै पनि उच्च रहेको जनाउँदै सम्मेलनले आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री पौडेलले भने, ‘आँखा सेवा पहुँच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकता दिएको छ ।’
पौडेलले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा. चेतराज पन्तले समुदाय स्तरमा गुणस्तरीय आँखा स्वास्थ्यको पहुँच पु र्याउन सङ्घले अनवरत प्रयास गरिरहेको जानकारी दिनुभयो।
सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन आइएपिबीका सदस्यहरु छन् ।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तरारष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।
आँखाले स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवर्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने कारणले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।
सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्ध ध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता जनाइएको छ ।
सम्मेलनमा सहभागी देशका बीचमा आँखा उपचार सेवाका अनुभव, चुनौतीका विषयमा अनुभव आदान प्रदान एवम् आँखा रोग विशेषज्ञद्वारा विशेष विशेष प्रवचन समेत हुनेछ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेष गरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयहरुमा छलफल हुनेछ ।
सङ्घका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने बताए । चन्दले भने, ‘‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्त्वपूर्ण हुनेछ ।’ सङ्घअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् ।
स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ।