वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।
डा. श्रेष्ठका अनुसार अधिकांश बिरामीमा क्यान्सर पत्ता लाग्दा रोग तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ। क्यान्सरको पहिलो चरणमा रोग कुनै अंगमा प्रारम्भिक रूपमा विकास भइरहेको हुन्छ। दोस्रो चरणमा ट्युमर ठूलो भए पनि सम्बन्धित अंगभित्रै सीमित हुन्छ। तेस्रो चरणमा ट्युमर अंगबाट बाहिर फैलिन थाल्छ भने चौथो चरणमा शरीरका अन्य भागहरूमा समेत फैलिसकेको हुन्छ।
डा. श्रेष्ठ भन्छन्, “क्यान्सरको लक्षण कुर्दै बस्नु हुँदैन। क्यान्सर शरीरको खुट्टादेखि टाउकोसम्म जुनसुकै अंगमा हुन सक्छ र लक्षण पनि त्यसैअनुसार फरक–फरक हुन्छ।”
उनले शरीरमा कुनै समस्या देखिएर उपचार गर्दा पनि एकदेखि डेढ महिनासम्म सुधार नआए त्यसलाई सामान्य ठानेर बेवास्ता नगर्न आग्रह गरेका छन्। यस्तो अवस्थामा दीर्घरोग वा क्यान्सरको सम्भावनाबारे सचेत भई थप जाँच गराउनुपर्ने डा. श्रेष्ठको सुझाव छ।






