नेपालका प्रख्यात एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ बाट सम्मानित भएका छन् ।
बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ ले डा. फुयाँललाई न्यूरो–इन्टरभेन्सनको क्षेत्रमा पुर्याएको अग्रणी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।
डा. फुयाँललाई ‘पिनहोल’ प्रविधिमार्फत जीवनरक्षक शल्यचिकित्सा सेवामा उत्कृष्टता प्रदर्शन गरेबापत यो सम्मान प्रदान गरिएको हो ।
‘वर्ल्ड बुक अफ रेकर्ड्स’ द्वारा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोह काठमाडौँको होटल याक एन्ड यतीस्थित रिगल बलरुममा सम्पन्न भएको थियो । विश्वभरका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त समारोहमा उत्कृष्टता, नवीन आविष्कार र उपलब्धिहरूलाई सम्मान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै डा. फुयाँले यो अवसरले नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेकोमा खुसी व्यक्त गरे । डा. फुयालले आगामी दिनमा अझ उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहने बताउनु भयो।






