काठमाडौं, ९ असोज २०८०
डाक्टर कुटपिटको घटना बारम्बार भएको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्। त्रिवि शिक्षण अस्पतालका डा. सुमन आचार्यले चिकित्सकहरुले इमान्दार भएर स्वास्थ्य सेवा प्रदान गरिरहँदा पनि भौतिक आक्रमण बढ्दै गएपछि आन्दोलनमा उत्रिनुपरेको बताए।
चिकित्सकले गलत उपचार गरेको खण्डमा नेपाल मेडिकल काउन्सिलले कारबाही गर्ने बाटो हुँदाहुँदै भौतिक आक्रमण गर्नु दुःखद भएको उनको भनाई छ।
‘हामी कुनै भगवान् होइनौं, तर हामीले जानेको क्षमता निर्वाध रुपमा बिना त्रासपूर्ण वातावरणकाबीच प्रयोग गर्न पाउनुपर्यो’ उनी भन्छन्, ‘हामीले गरेको आन्दोलनले बिरामीलाई पर्न गरेको असुविधाप्रति क्षमाप्रार्थी छौं।’
राज्यको निकम्मापन तथा लापरबाहीका कारण बिरामीलाई पर्न गएको असुविधाको जिम्मेवार राज्य आफैं हुनुपर्छ उनी बताउँन्। कार्यस्थल सुरक्षित हुनुपर्ने डा. आचार्य बताउँछन्।
आन्दोलनकै भिडमा भेटिएकी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत्त डा सरस्वती भट्टराईले कार्यस्थलमा सुरक्षाको प्रत्याभुत हुन नसकेपछि हजारौंको संख्यामा चिकित्सकहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताइन्।
‘हामी स्वास्थ्यकर्मी दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुर्व्यवहार भोगिरहेका छौं। कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनसकेको छैन त्यसैले राज्यलाई सुरक्षाको दबाब दिनका लागि आन्दोलन गर्न बाध्य भएका हौं’ उनले भनिन्।।
पोखराको मणिपाल शिक्षण अस्पताल, जिल्ला अस्पताल लमजुङमा डाक्टरमाथि आक्रमण भएको थियो। केही समयअगाडि हेटौडाको सञ्चो अस्पतालमा कार्यरत २ जना डाक्टरमाथि कुटपिट भएको थियो। त्यसकै विरोधमा माइती घरमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ’, ‘डाक्टर कुट्न पाइँदैन’,’ पेशा छोडौं कि देश छोडौं’ लगायत प्लेकार्डसहित प्रदर्शन गरेका छन्।