काठमाडौं, ३१ भाद्र २०७९
साउन दोश्रो साता देखि देश ब्यापक रुपमा देखा पर्न थालेको र हाल सम्म १३ जनाको ज्यान लिई सकेको डेंगी रोग संक्रमित एडिज लामखुट्टेको टोकाईको कारणले एक मानिस बाट अर्को मानिसमा सर्ने गर्दछ। यस रोगको प्रभाव यस बर्ष ७५ जिल्लामा देखा परेको छ ।
नेपालमा सन् २००४ मा पहिलो पटक बिदेशी नागरिक नेपाल भ्रमण गर्न आएको बेला देखा परेको डेंगी रोग हरेक बर्ष यसको प्रकोप बढ्दो क्रममा रहेको छ । सन् २००५ मा भने यो रोग देखा परेन तर त्यसपछि हरेक बर्ष अर्थात सन् २००६ देखि नेपालमा डेंगी संक्रमण हुदै आएको छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको तथ्यांक अनुसार हरेक दुइ देखि तिन बर्षको बिचमा यस रोगले महामारीको रुप लिदै आएको छ । पहिलो पटक सन् २०१० मा चितवन र आसपासका क्षेत्रहरुमा यस रोगको महामारी भएको थियो । त्यसपछि बिभिन्न स्थानमा यस रोगको महामारी फैलिदै आएको छ र सन् २०१९ मा सनसरी चितवन, कास्की लगायतका जिल्लाहरुमा महामारी फैलिदा हाल सम्मकै उच्च संख्यामा अर्थात १७९९२ जनामा डेंगी रोग देखा परेको थियो र त्यस बेलामा ६ जनाको दुखद निधन भएको थियो ।
सन् २०२२ मा सेप्टेम्बर १५ तारिख सम्मको तथ्यांक अनुसार १३ हजार भन्दा बढी मानिस संक्रमित भै सकेको र १३ जनाको ज्यान गइसकेको छ । जानकारहरुका अनुसार अझै दुई हप्तासम्म यस रोगको संक्रमण तिब्र रुपमा फैलिन सक्ने सम्भावना रहेको छ ।
नेपालमा डेंगी, चिकन गुनिया, स्क्रबटाईफस जस्ता किटजन्य रोगको संक्रमण दर बर्षेनी बढ्दो क्रममा रहेको छ । त्यसैगरि औलो, कालाजार र हात्तीपाईले रोग निवारण गर्ने भनि काम हुँदै गरेको छ । यिनी रोग हरुको निर्धारित लक्ष्य हासिल गर्न र किट जन्य रोगको प्रभावकारी नियन्त्रणको लागि किट सम्बन्धि काम गर्ने कर्मचारीको पनि अति नै आवश्यकता पर्ने गर्दछ ।
नेपालमा संघियता लागु हुनु भन्दा पहिला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत बिभिन्न निकायमा भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्ट हरुको दरबन्दी कायम थियो र किट नियन्त्रणका लागि कर्मचारीहरु काम गर्दै आएका थिए । हाल भने उक्त दरबन्दी नै नरहने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी संरचना बनाएको कुरा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा कार्यरत भेक्टर कन्ट्रोल अधिकृत हेम राज जोशीले बताए । एका तिर किटजन्य रोगको समस्या तिब्र रुपमा बढ्दै गएको छ भने अर्को तिर काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको छ ।
इन्टोमोलोजिस्ट र भेक्टर कन्ट्रोल सुपरभाइजर हरुले रोग सार्ने लामखुट्टे लगायतका बिभिन्न किटहरुको अध्ययन गर्ने, यिनीहरुको आनी बानि पत्ता लगाउने र कुन किटले रोग सारेको छ र उक्त किटलाइ कुन तरिकाले सजिलै संग नियन्त्रण गर्न सकिन्छ भन्ने कुराहरु खोजि गर्ने काम गर्दथे । हाल यस्ता कर्मचारी हरुको अभावले रोग सार्ने किट सम्बन्धि थप अध्ययन अनुसन्धान गर्न नसकिएको र भबिस्यमा पनि सरकारले यस किसिमको कर्मचारीको दरबन्दी कायम नगर्ने हो भने थप समस्या आउन सक्ने देखिन्छ। यस बिषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ।