काठमाडौं, १९ भाद्र २०७७
पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५९ संक्रमित थपिएका हुन् । देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ जना रहेको छ ।
उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।