आज कोरोना भाइरसको संक्रमणबाट जितिएको दिन, मन त कपास जस्तै हलुङ्गो हुदोरहेछ, खुशि त कति-कति। सायद सबै संक्रमितहरुलाई यस्तै हुन्छ होला कोरोनाको संक्रमणवाट मुक्ति पाउँदा।
गत वर्षको संक्रमणबाट त हामी सवै जोगिन सफल भएका थियौं, त्यसैले यो वर्ष पनि संक्रमण नहोस भनेर निकै सजक थियौं। सकेसम्म भिडभाडमा, भेला- जमघाटमा गएको पनि थिएन। बाटोमा, आफिसमा माक्सको पनि उपयुक्त प्रयोग गरेकै थिए। यति गर्दा-गर्दै पनि दुर्भाग्यवस यसपटक परिवारका सबैजना कोरोना भाइरसबाट संक्रमित भईयो।
पूरै परिवार संक्रमित हुँदाको अवस्थामा हुने संक्रमणको पीडा त हुँदैछ, त्योभन्दा पनि झन मानसिक पीडा र त्रास पनि हुदो रहेछ। संक्रमणका लक्षणहरु पनि व्यक्ति पिच्छे फरक- फरक देखा परे, रुघा, खोकि, जिउ थाक्ने र जिउ दुख्ने बाहेक अन्य लक्षणहरु प्राय सबैलाई अलग-अलग नै थिए । कसैको शरीरमा एलर्जी देखा पर्यो, कसैको आखाको गेडि दुख्ने, कसैलाई सुख्खा खोकी, ज्वरो, टाउको अनि जिउ बेस्सरी दुख्ने, असाध्यै थकान तथा कमजोरी महशुस हुने इत्यादि।
सबैभन्दा गाह्रो त तव अनुभव भयो, जब परिवारको कान्छो सदस्य, १८ महिने सानो बाबुले पनि यि समस्याहरू भोग्नुपर्यो। मनमनै सोच्थ्ये ठूलो मानिसले त आफ्ना पिडा पोख्न सक्छन र त्यहि अनुसारको विकल्प र समाधानको उपाय खोज्न सक्छन। यस्तो सानो बच्चाको भोगाइ र समस्या कसरी बुझ्ने, शरीरमा कति पिडा हुदैछ कसरी थाहा पाउने। यो अनउत्तरित प्रश्नले सधैं व्यक्तिगत पिडा झन-झन थपिरहन्थ्यो।
संक्रमणको केहि दिन पश्चात, श्रीमतिलाई असहज हुदै गयो, निरन्तर ज्वरो, सुख्खा खोकि, असहय शरिरको दुखाइ र शरिरमा देखिएको अक्सिजनको कमिले तुरुन्त अस्पताल जानुपर्ने अवस्था देखियो। जान-त जाने तर कहाँ जाने। सरकारी तथा प्राइभेट अस्पतालमा आफुले चिनेका साथि-भाईलाई सहयोगको लागि गुहारे, तर कतैबाट पनि सहज उत्तर पाइएन। अन्तमा एकजना डाक्टरको सहयोगले ह्याम्स अस्पतालमा जाँच गर्न लगियो। मनमनै सोचे, म काठमाण्डौमा बस्ने व्यक्तिलाई त स्वास्थ सेवाको पहुुँच यस्तो छ भने दुर-दराजका विरामीले त झन् के-कस्तो सेवा पाउलान् र कति सहजता संग पाउलान्, यो त सोचनिय नै छ।
संक्रमणका क्रममा घरमा वस्दा यु-ट्युबमा हास्यव्यङ्ग्य भिडियो हेर्ने, पारिवारिक गफ, वच्चाहरूसंग खेल्ने साथै शुभ-चिन्तकहरुसंग फोनमा कुरा गरेर साथै, मन शान्त गर्ने क्रियाकलापहरु गरेर लगभग दुई हप्ता जति समय घरमै विताईयो। परिवारमा सबैजना संक्रमित भएकोले, आफूलाई स्वाद अनुकुलको खाना पकाउने काम पनि आफैले गरे। खानामा सकेसम्म विभिन्न मसला जस्तै; दालचिनी, तेजपत्ता, जिरा, धनिया, मरिच, टिमुर, ज्वानो, अधुवा, लसुनको प्रयोग नियमित रुपमा गरे। यस्ता मसलाहरुको प्रयोग गेडा-गुडीको झोल, दाल वा अन्य झोल बनाउने क्रममा प्रयोग गरे। सकेसम्म दिनमा ६-७ पटक कागति चिया, गुर्जो पानि, जडिबुटी युक्त चिया र तातो पानी नियमित रुपमा खायौं र बिहान- वेलुका बाफ पनि लियौं। यसको साथै बिहान शारीरिक व्यायाम, अनुलोम-विलोम लगायत अन्य श्वासप्रस्वास सम्वन्धि योग अभ्यास पनि निरन्तर गर्यौं।
केहि दिनको अनुशासित जिवनशैली तथा दृढ आत्मविश्वासका कारण क्रमिक रुपमा सबैमा सुधार आयो र लगभग १० दिनपछि प्राय धेरै लक्षणहरु हराएर गए। तर सुख्खा खोकि, शारीरिक थकान, झुम्म हुने लक्षणहरु हालसम्म पनि यथावत नै छन्। बेलैमा अपनाएको सतर्कता र शुभचिन्तकहरुको सलाह र सहयोगले संक्रमणबाट चाडै मुक्त्त हुन सहज भयो।
हाल आफ्नै वरपर र आफुले चिनेका थुप्रै व्याक्तिहरु यो संक्रमणबाट प्रभावित भइरहदा, आफुले भोगेका असरहरु र अपनाएका सर्तकता र विधिहरु प्रस्तुत गर्दा, अरुलाई केहि सहजता हुनसक्छ भन्ने कुरालाई विचार गर्दै, केहि बुँदाहरु प्रकाश पारेको छु।
- आफुमा संक्रमण भएका लक्षणहरु देखिए वा महसुश गरे (मुख्यगरि सुख्खा खोकि, रुघा-खोकि ज्वरो, जिउ बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, पखाला लागने, छालामा एलर्जी आउने, घांँटी दुख्ने, स्वाद गन्ध हराउने इत्यादी) परिवारको अन्य सदस्यहरुबाट अलगिएर बस्ने र घरमा बस्दा माक्सको प्रयोग संग गर्ने।
- तुरुन्त नजिकको ल्यावमा गएर, स्वाव दिने र आफू संक्रमित भए-नभएको पत्ता लगाउने। साथै परिवारका अन्य सदस्यहरुको पनि परिक्षण गर्ने।
- ल्याब टिस्ट पोजेटिभ आएमा शरीरमा देखिएका लक्षण र तिनको गम्भीरताका आधारमा सर्तकता अपनाउने।
- घरमा बस्दा, कोठामा प्रसस्त हावा ओहोर-दोहोर हुने गरि झयाल-ढोका खुला राख्ने।
- ज्वरो आएको अवस्थामा कम गर्न सिटामोल खाने साथै खोकि कम गर्न डाक्टरको सल्लाह अनुसार औषधि प्रयोग गर्ने। घरायसी समाधानको लागि बेलुका सुत्न अघि दुधमा थोरै बेसार र ल्वाङ्ग पकाएर रवादा पनि सुख्खा खोकि कम भएको महसुस गरे।
- पल्स-अक्सिमिटरले बेला-बेलामा शरीरमा भएको अक्सिजनको मात्रा जाँच गर्ने। अक्सिजनको मात्रा ९४ भन्दा कम भए तत्कालको वयवस्थापनको लागि “प्रोनिङ्ग पोजिसन” अर्थात घोप्टो परेर सुत्ने विधि अपनाउने साथै स्वास्थ्यकर्मिको परामर्श पनि लिने।
- प्रसस्त मात्रामा तातोपानी, गेडागुडीको रस, जडिबुटि युक्त चिया, गुर्जो पानी, कगति पानी, तुलसी पनी, अमलाको रस इत्यादी जस्ता तातो झोलयुक्त खानेकुरा दिनभरि प्रसस्त मात्रामा पिउने।
- दैनिक पकाउने खानामा मरिच, ज्वानो, दालचिनी, तेजपत्ता, अदुवा, लसुन, जिरा धनियाँको नियमित प्रयोग गर्ने।
- पुदिना, हरियो धनियाँ, टिमुर, कागति युक्त चटनीको प्रयोग गर्ने।
- दिनमा १-२ पटक वाफ लिने ।
- धुम्रपान-मध्यपानबाट टाढा रहने।
- घरमा बस्दा आफ्नो दिन-चर्या तनाव मुक्त राख्ने, मन खुशि हुने, हाँस्ने माहोल श्रृजना गर्ने, रमाइला भिडियोहरू हेर्ने, राम्रा तथा सकारात्मक कुराहरु हेर्ने, पढने साथै सुन्ने। नचाहिने, तनाव श्रृजना गर्ने, मन बहकाउने समाचार नहेर्ने, नपढ्ने र नसुन्ने। सामाजिक संजालका अर्थहिन पोष्टहरु नहेर्ने र सकिन्छ भने सामाजिक संजालबाट टांढा रहने।
यति सामान्य कुराहरु अनुसरण गर्दा, कोरोना संक्रमणलाई जित्न निकै सजिलो हुँदो रहेछ।
कोरोना संक्रमणले सिकाएको पाठः
कोरोना संक्रमणले हामिसबैलाई धेरै कुराहरु सिकाएको छ, जसमध्ये मैले अनुभव गरेका कुराहरु यहाँ रखेको छु;
- जनस्वास्थ्यमुखि स्वास्थ्य प्रणालिको विकास गरी समाजमा प्रतिकारात्मक, प्रबर्द्धनात्मक, उपचारात्मक र पूर्नस्थापनात्मक सबै पक्षहरू बलियो बनाउनु पर्ने। यस्तो क्रियाकलापले अस्पतालमा हुने विरामीको भार स्वतहनै कम गराउँछ।
- जनताको स्वास्थ्य मजबुत पार्न साथै स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन एलोपेथिक उपचार पद्धतिको विस्तार गर्ने, अस्पताल निर्माण गर्ने मात्र नभएर आर्युवेद लगाएत अन्य वैकल्पीक उपचार विधिहरुको पनि समान्तर रुपमा विकास गर्नु पर्ने र महत्व दिनु पर्ने हुन्छ।
- नेपालमा रहेका स्वास्थ्यका विभिन्न विद्याका विज्ञहरुको अवस्था के कस्तो छ, यो सम्बन्धि जानकारी स्वास्थ्य मन्त्रालयले विभिन्न काउन्सीलको सहयोगमा तयार गरेर बेला-बेलामा सार्वजनिक गर्ने।
- हाम्रा सार्वजनिक संरचनाहरु (जस्तै धेरैजसो स्कुल, कलेज, अफिसहरु, अस्पताल इत्यादी) निकै कम्जोर र मापदण्ड नपुग्ने भएकाले त्यसले संक्रमणको जोखिम झन बढाएको छ। यस्ता भएका संरचनाहरूको स्थानिय निकायले अनुगमन गरी सुधार गर्ने साथै नया संरचनाको निर्माण गर्दा मापदण्डको कडा रुपमा पालना गरेरमात्र निर्माण गर्ने र त्यसको क्षमता कति हो भन्ने कुराको पनि यकिन गर्ने र सो जानकारी नागरिक बडापत्रमा उल्लेख गर्ने।
- यस्तो महामारीको बेलामा राज्यले जनतालाई दिने जानकारी एकद्वार प्रणालिबाट, र तथ्यमा आधारित जानकारी मात्र प्रवाह गर्ने । जथाभावि समाजमा भ्रम फैलाउने जानकारी दिनेलाई कडा कारवाही गर्ने।
- टेलिहेल्थ र टेलिमेडिसिनको माध्यमबाट स्वास्थ्यका प्रतिकारात्मक, प्रबर्द्धनात्मक, उपचारात्मक र पूर्नस्थापनात्मक सेवाहरु देशका विभिन्न तह-तप्कामा विस्तार गरी स्वास्थ्य सेवा प्रतिको पहुच बढाउने।
- टोल-टोलमा रहेका खालि तथा सार्वजनिक ठाउँहरुमा प्रसस्त रुख-विरुवा रोप्ने साथै फोहरको उचित व्यवस्थापन सहित बगैंचा, पार्क निर्माण गर्ने र तिनको भरपुर प्रयोग गर्ने। आफ्ना स्थानिय स्तरका प्राकृतिक सम्पदा, खोला-नालाको संरक्षण गर्ने र प्रकृतिसंग नजिक हुने।
- आफ्नो स्वास्थ्यको अवस्था के कस्तो छ भन्ने बारेमा थाहा पाउन बेला-बेलामा जाच गर्न र सकारात्मक जिवनशैलि सम्वन्धि परार्मश लिन वडा स्तरमा स्वास्थ्य प्रवर्दधानामक केन्द्रहरु स्थापना गर्ने ।
- अन्तमा: हामी मानवजाति संसारमा रहेका सवै प्राणि भन्दा चेतनशिल भनि कहलिएकाले, आफूभित्र रहेको चेतनालाई उजागर गर्ने प्रयास गरौ, आफ्नो लागि सबैभन्दा राम्रो डाक्टर आफै नै हो भन्ने कुरामा विश्वास गरौ, साथै आफ्नो शाररिक, मानसिक स्वास्थ्यलाई मजबुत बनाउन आफ्नो स्वास्थ्यको बारेमा स्वयंमले नै चिन्तन गर्ने वानीको सुरुवात गरौ।
Comments 1