काठमाडौं, १७ श्रावण, २०८०
नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या विगत पाँच वर्षमा १० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
डिसेम्वर २०२२ मा प्रकाशित नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडिएचएस) ले गएको पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
त्यसैगरी सन् २०२२ को एनडीएचएस अध्ययनले नेपालमा ५६ प्रतिशत महिलाले मात्र शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने गरेको देखाएको हो। २०१६ मा यो संख्या ६६ प्रतिशत थियो।
यस प्रतिवेदनका आधारमा नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या घट्दै गएको देखाउँछ। पुर्ण स्तनपान गराउने आमाहरूको प्रतिशत सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको थियो भने सन् २०२२ मा यो प्रतिशतमा ५६ झरेको देखिएको छ। त्यसैगरी नेपालमा २० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या भने घटेको पाइएको छ।
एनडीएचएस २०२२ अनुसार गत पाँच वर्षमा कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या घटेको देखाएको हो।