नेपालमा बर्डफ्लुको संक्रमण दिनप्रतिदिन उग्र बन्दै गएको छ। सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार २०८३ वैशाख १ गतेसम्म देशका ६ जिल्लामा संक्रमण फैलिसकेको छ।
आर्थिक वर्षको पहिलो संक्रमण २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाका सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट देखिएको थियो। त्यही संक्रमण अहिले देशका प्रमुख पोल्ट्री क्षेत्रहरूमा विस्तार हुँदै गएको छ।
देशभरमा हालसम्म ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि सरकारले १ लाख ३० हजार ९१२ वटा पंक्षी नष्ट गरिसकेको छ, भने २ लाख ३७ हजार ५६२ वटा अण्डा र ३३ हजार ४४५ केजी दाना समेत सुरक्षाका साथ नष्ट गरिएको छ।
जिल्लागत रूपमा हेर्नु पर्दा सुनसरीमा सबैभन्दा बढी १७ वटा फार्म प्रभावित भएका छन्। पंक्षी नष्ट गरिएको संख्याका आधारमा भने मोरङ सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ १० वटा फार्मका ५३ हजार ७२१ पक्षी मारिएका छन्।
संक्रमण फैलिएका अन्य जिल्लामा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन्। चितवनको एउटै फार्ममा १८ हजार ८६३ पक्षी नष्ट गरिएको छ भने झापाका ३ वटा फार्ममा १५ हजार ३९० पक्षी मारिएका छन्। बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ वटा पक्षी नष्ट गरिएको पछिल्लो विवरण सार्वजनिक गरिएको छ।
सरकारले संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्र सिल गर्ने, स्रोतमै रोग नियन्त्रण गर्ने र आवश्यक हस्तक्षेपकारी कदम चाल्ने रणनीति अपनाएको जनाइएको छ। केन्द्रीय संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सुरक्षाकर्मीको सहयोगमा नियन्त्रण प्रयास तीव्र बनाइएको सम्बन्धित निकायले जानकारी दिएको छ।







