काठमाडौं २६, जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट डाक्टर विकास देवकोटालाई हटाइएको छ। मन्त्रालयले प्रवक्ताको ठाउँमा प्रोफेसर डाक्टर जागेश्वर गौतमलाई दिईएको छ। उनलाई हालै मात्र परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाट मन्त्रालयमा तानिएका थिए। डा. विकास देवकोटालाई गुणस्तर मापन शाखाको प्रमुखमा पठाएको मन्त्रालयले जनाएको छ।
डा. देवकोटाले कोरोना भाइरस संक्रमणको सुरु भए देखि ७६ दिन सम्म मन्त्रालयमा कोरोनाको नियमित अपडेट गर्दै आएका थिए। पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयमा व्यापक रुपमा कर्मचारीहरु सरुवा र हेरफेर गरेको छ। अब आज देखि मन्त्रालयको प्रवक्तामा नियमित रुपमा हुँदै आएको कोरोना अपडेटमा डा. गौतमले समाल्नु हुनेछ।
देशभर कोरोना संक्रमितको संख्या थपिँदै जाँदा मन्त्रालयले महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरूको सरुवा सुरु गरेको छ। केही दिनअघि स्वास्थ्य विभागको महानिर्देशक, केही निर्देशकको नेतृत्व हेरफेर भएकोमा मन्त्रिस्तरीय निर्णयबाट डा. देवकोटालाई समन्वय महाशाखाबाट गुणस्तर मापन तथा नियमन महाशाखामा सरुवा गरिएको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देवकोेटाले सम्हाल्दै आएको महाशाखा र प्रवक्ताको जिम्मेवारी प्रसूति गृहबाट मन्त्रालयमा तानिएका निर्देशक डा. जागेश्वर गौतमलाई दिएका छन्।
डा. गौतमको ठाउँमा पनि कोरोना नियन्त्रणमा सुरुमै ठूलो संख्यामा बिरामी व्यवस्थापन गरेर प्रशंसित चिकित्सक डा. संगीता मिश्रालाई कोसी अस्पतालबाट सरुवा गरेर ल्याइएको छ।
सरकारले कोरोना महामारीको त्रास र भार थपिँदै जाँदा महत्त्वपूर्ण ठाउँमा गरेको जिम्मेवारी हेरफेरका निर्णयसँगै कतै प्रशंसा त कतै आलोचना भएको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्रालयका जुनसुकै महाशाखाको जिम्मेवारी दिँदा पनि इमान्दारीपूर्वक काम गर्दै आएका देवकोटाको भूमिका परिवर्तनबाट भने मन्त्रालयका अधिकारी असन्तुष्ट छन्।
मन्त्रालयका अधिकारीहरूका अनुसार डा. देवकोटाको कामभन्दा आक्रोशबिनै र सन्तुलित ढंगले बोल्ने शैलीसँग मन्त्रीका सल्लाहकारहरूले चित्त नबुझाएपछि भूमिका फेरिएको हो।
‘आमजनतामा मन्त्रालयका तर्फबाट उपस्थित हुने व्यक्ति स्वतन्त्र र सन्तुलिनभन्दा सरकारको कामको तीव्र प्रशंसा र बचाऊ गर्ने चाहिन्छ भनेर नै उहाँलाई हटाइएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अल्ली कडा स्वभाव, चेतावनी र सरकारको बचाऊ सशक्त ढंगले गर्ने मान्छे खोजिएको देखिन्छ।’
पछिल्लोपटक डा. देवकोटाको सञ्चारमाध्यममा चर्चा हुँदा केही सल्लाहकारहरूले सरकारको कामको आक्रामक रूपमा बचाऊ गर्न नसकेको भन्दै मन्त्रालयमै टिप्पणी गरेका थिए।
डा. देवकोटाले भने लाइभ अपडेटले व्यक्तिगत मलाई धेरै कुरा सिकाएको छ’ भने, ‘ यहाँहरूले सिकाउनु भएको छ। सञ्चारकर्मीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’