चितवन , १३ फागुन २०७७
भरतपुर केन्द्रीय अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफ्नो ४० औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ ।
अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वासुदेव पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा अधिकारीले रु ३६ हजार २५० कोषका लागि हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले विपन्न नागरिकको उपचारमा सधैं लागिपर्ने भन्दै सक्दो सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो । जिल्लामा चिकित्सकका रूपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै आफूले पनि स्वास्थ्य परीक्षण गरेको बताउनुभयो ।